RayNewsDaily
जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ   

जलालाबाद (अफगानिस्तान) । अफगानिस्तान र पाकिस्तानबीच चर्किँदै गएको सैन्य तनावबीच शनिबार जलालाबाद सहरमा एक पाकिस्तानी लडाकू जेट खसालिएको र त्यसका पाइलटलाई जीवित अवस्थामा नियन्त्रणमा लिइएको अफगान सुरक्षा निकायहरूले जनाएका छन् । घटनाले दुई देशबीचको द्वन्द्व थप गहिरिएको सङ्केत गरेको छ ।    
    
 प्रहरी प्रवक्ता तैयब हम्मादका अनुसार जलालाबाद सहरको प्रशासनिक क्षेत्र नम्बर ६ मा उडिरहेको पाकिस्तानी लडाकू जेटलाई गोली हानी खसालिएको थियो । “जेट खसालिएपछि पाइलटलाई जिउँदै समातिएको छ”, उहाँले भन्नुभयो । पूर्वी अफगानिस्तानस्थित सेनाका प्रवक्ता वाहिदुल्लाह मोहम्मदीले पनि अफगान सेनाले जेट खसालेको र पाइलटलाई नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो ।    
    
 एएफपीका एक पत्रकारले जेटको तीव्र आवाज जलालाबादमाथि सुनिएको र त्यसपछि सहरको विमानस्थलतर्फबाट दुईवटा शक्तिशाली विस्फोटको आवाज आएको बताएका छन् । घटनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।    
    
 यस विषयमा प्रतिक्रिया माग्दा पाकिस्तानको सेना र सूचना मन्त्रालयले तत्काल कुनै टिप्पणी दिएका छैनन् । पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो झडप र हवाई कारबाहीले दुवै देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।    
    
 यसअघि पाकिस्तानले शुक्रबार अफगानिस्तानको राजधानी काबुल तथा दक्षिणी सहर कान्दाहारमा हवाई आक्रमण गरेको थियो । कान्दाहार तालिबान सर्वोच्च नेता हिबतुल्ला अखुन्दजादाको आधार क्षेत्र मानिन्छ । अफगान पक्षका अनुसार बिहीबार राति अफगान सेनाले पाकिस्तानविरुद्ध सीमा क्षेत्रमा कारबाही सुरु गरेपछि हवाई आक्रमण भएको हो । तालिबान सरकारले भने उक्त कदमलाई अफगान भूमिमा पहिले गरिएको पाकिस्तानी आक्रमणको प्रतिउत्तर भएको बताएको छ ।    
    
 नयाँ घटनाक्रमले क्षेत्रीय सुरक्षामा थप अनिश्चितता ल्याएको छ र दुवै पक्षबीचको सैन्य गतिविधि अझै बढ्न सक्ने सङ्केत गरेको छ ।    
    
– तीन सयभन्दा बढी अफगान सैनिक मारिए : पाकिस्तान –    
    
 यसैबीच पाकिस्तानले अफगानिस्तानभित्र एक दिन लामो तोपखाना र हवाई कारबाहीमा ३०० भन्दा बढी अफगान सैनिक मारिएको दाबी गरेको इस्लामाबादबाट एपीले जनाएको छ । बढ्दो सीमा द्वन्द्वबीच शनिबार सार्वजनिक गरिएको सरकारी विवरणअनुसार अफगान सैन्य चौकीहरू र प्रतिष्ठानहरूमा व्यापक क्षति पुर्‍याइएको बताइएको छ ।    
    
 सूचनामन्त्री अत्ताउल्लाह तारारका अनुसार ३३१ भन्दा बढी अफगान तालिबान लडाकु मारिएका र ५०० भन्दा बढी घाइते भएका छन् । पाकिस्तानले १०२ अफगान चौकी ध्वस्त पारेको, २२ कब्जा गरेको तथा ३७ स्थानमा १६३ ट्याङ्क र बख्तरबन्द सवारी साधन नष्ट गरेको दाबी गरेको छ । सरकारी मिडियाले वायुसेनाले पूर्वी अफगानिस्तानका मुख्य सैन्य लक्ष्यहरूमा आक्रमण जारी राखेको जनाएको छ ।     
    
 यो कारबाही तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) का प्रशिक्षण शिविरहरू लक्षित गरी गरिएको आक्रमणपछि सुरु भएको परस्पर प्रतिआक्रमणको निरन्तरता हो । पाकिस्तानले टिटिपीलाई अफगान भूमिबाट सञ्चालन भइरहेको आरोप लगाउँदै आएको छ, जुन आरोप काबुलले अस्वीकार गर्दै आएको छ ।    
    
 अफगानिस्तानको रक्षा मन्त्रालयले भने मिरानशाह र स्पिन वाम क्षेत्रमा पाकिस्तानी सैन्य आधारहरूमा रातभर आक्रमण गरी भारी क्षति पुर्‍याएको जनाएको छ । अफगान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ५५ पाकिस्तानी सैनिक मारिएको दाबी गर्दै पाकिस्तानको ‘हरेक कदमको जवाफ दिइने’ चेतावनी दिनुभएको छ । पाकिस्तानले आफ्ना १२ सैनिक मारिएको यसअघि जनाएको थियो ।    
    
 पूर्वी अफगानिस्तानका अधिकारीहरूले पाकिस्तानी आक्रमणमा कम्तीमा ११ सर्वसाधारण मारिएको आरोप लगाएका छन् । पाकिस्तानले भने केवल सैन्य लक्ष्यमा प्रहार गरिएको र नागरिक हताहतबाट जोगिन प्रयास गरिएको दाबी गरेको छ ।    
    
 तनावका कारण तोरखाम सीमा क्षेत्रमा बसोबास गर्ने सयौँ परिवार विस्थापित भएका छन् । केही अफगान शरणार्थीहरू सीमा पार गर्न नसकी अलपत्र परेका छन् । रमजानको उपवास महिनामा खाद्यान्न अभाव झेलिरहेका स्थानीयहरूले युद्धविरामको माग गरेका छन् ।    
    
 अक्टोबरयता जारी झडपमा दर्जनौँ सैनिक र नागरिक मारिएका छन् । कतारको मध्यस्थतामा भएको युद्धविराम स्थायी हुन सकेन । हाल टर्की, साउदी अरेबिया, कतार र चीनले फेरि मध्यस्थताको प्रयास गरिरहेका छन् । कतारका राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीले दुवै देशका विदेशमन्त्रीसँग तनाव कम गर्ने विषयमा वार्ता गर्नुभएको छ । एएफपी   
 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update