RayNewsDaily
ट्रम्पको प्रश्न : इरान किन झुकेको छैन ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाउनुभएको अमेरिकी दूत स्टिभ विटकफले बताउनुभएको छ ।

आणविक सम्झौताबारे दबाब बढाइरहेका ट्रम्पले इरानले वासिङ्टनको चेतावनीलाई गम्भीर रूपमा किन नलिएको भन्ने जिज्ञासा व्यक्त गर्नु भएको उहाँले खुलासा गर्नुभयो । ओमानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबिच जेनेभामा वार्ता पुनः सुरु भइरहेका बेला वासिङ्टनले क्षेत्रमा दुई विमानवाहक पोत, लडाकू जेट र अतिरिक्त हतियार पठाएर आफ्नो चेतावनीलाई बलियो बनाएको छ ।

यसै सन्दर्भमा फक्स न्युजमा ट्रम्पकी बुहारी लारासँगको अन्तर्वार्तामा विटकफले राष्ट्रपति इरानको अडानप्रति ‘उत्सुक’ रहेको बताउनुभयो । “म ‘निराश’ शब्द प्रयोग गर्न चाहन्नँ, किनकि उहाँसँग धेरै विकल्प छन् भन्ने उहाँ बुझ्नुहुन्छ”, विटकफले भन्नुभयो, “तर उहाँ उत्सुक हुनुहुन्छ-उनीहरूले किन आत्मसमर्पण गरेनन् ?” उहाँले ‘आत्मसमर्पण’ शब्द प्रयोग गर्न हिच्किचाए पनि तीव्र सैन्य उपस्थिति र समुद्री शक्तिको दबाबका बीच इरान किन वार्तामा निर्णायक रूपमा अघि नबढेको भन्ने प्रश्न राष्ट्रपति उठाइरहनु भएको उल्लेख गर्नुभयो ।

“किन उनीहरू हामी कहाँ आएर ‘हामीलाई हतियार चाहिँदैन, हामी यस्तो गर्न तयार छौँ’ भनेर भन्दैनन् ?” उहाँले प्रश्न गर्नुभयो । अन्तर्वार्तामा विटकफले सन् १९७९ को इस्लामिक क्रान्तिपछि देश फर्कन नपाउनुभएका पूर्वयुवराज रेजा पहलवीसँग राष्ट्रपतिको निर्देशनमा भेट गरेको पुष्टि गर्नुभयो, तर विस्तृत विवरण दिनुभएन । गत साता अमेरिकास्थित पहलवीले म्युनिखमा ट्रम्पद्वारा शासन परिवर्तन इरानका लागि उपयुक्त हुनसक्ने चर्चा भइरहेका बेला आफू ‘धर्मनिरपेक्ष लोकतान्त्रिक भविष्य’ का लागि देशको नेतृत्व गर्न तयार रहेको बताउनुभएको थियो ।

विटकफको टिप्पणी इरानी विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनसँग सम्भावित सम्झौताको मस्यौदा प्रस्ताव केही दिनभित्र तयार हुने सङ्केत दिनुभएको पृष्ठभूमिमा आएको हो । ट्रम्पले बिहीबार इरानलाई आफ्नो आणविक कार्यक्रम सम्बन्धी चिन्तामा सहमति जनाउन अधिकतम १५ दिनको समय सीमा दिनुभएको थियो ।

जेनेभामा वार्ता जारी रहँदा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले मङ्गलबार ट्रम्प इस्लामिक गणतन्त्रलाई नष्ट गर्न सफल नहुने बताउनुभएको थियो । पश्चिमी मुलुकले इरानमाथि आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले अस्वीकार गर्दै नागरिक प्रयोजनका लागि युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ ।

इरानले आर्थिक प्रतिबन्धका कारण अर्थतन्त्रमा परेको ठूलो दबाब अन्त्य गर्न वार्ता चाहेको बताउँदै आएको छ । तेहरानले डिसेम्बरमा भएको सरकार विरोधी प्रदर्शनमा बाह्य शक्तिको भूमिका रहेको आरोप लगाउँदै आएको छ । यी सबै घटना क्रमबिच ट्रम्प प्रशासनको कडा अडान र इरानको प्रतिरोधी प्रतिक्रिया आगामी दिनमा वार्ताको दिशा निर्देशन गर्ने निर्णायक तत्व बन्न सक्ने देखिएको छ । रासस/एएफपी 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update