ढाका । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको छ ।
नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले भन्नुभयो, “आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ । अव आउने निर्वाचित सरकारले लोकतन्त्रको अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सुरु भएको मौलिक अधिकारलाई रोक्ने छैन।”
विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेको र उहाँ हेलिकोप्टरबाट भागेको केही दिनपछि युनुस सन् २०२४ अगस्टमा स्वघोषित निर्वासनबाट फर्किनुभएको थियो ।
उहाँले पूर्व प्रधानमन्त्री हसिना अपदस्थ भएको दिनको स्मरण गर्दै भन्नुभयो, “त्यो ठूलो मुक्तिको दिन थियो । त्यो कस्तो आनन्दको दिन थियो भने यसका कारण विश्वभरका बङ्गलादेशीहरुले खुसी बनेका छन् । हाम्रो देशका युवाहरूले देशलार्ई दुष्ट शासकको पकडबाट मुक्त गरे।”
त्यसयता बङ्गलादेशको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्दै आएका उहाँले गत साता भएको निर्वाचनमा ‘ठूलो विजय’ हासिल गरेकामा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र उसका नेता तारिक रहमानलाई बधाई दिनुभएको छ। रहमानले अबको सरकारको नेतृत्व गर्नुहुनेछ ।
“निर्वाचनसँग जोडिएका जनता, मतदाता, राजनीतिक दल र सरोकारवाला संस्थाले प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्,“ युनुसले राष्ट्रबासीका नाममा गरेको सम्बोधनमा भन्नुभयो ।
उहाँले भन्नुभयो, “यो निर्वाचनले भविष्यको चुनावका लागि मार्ग तय गरेको छ । बिएनपीका प्रमुख तथा देशको सबैभन्दा शक्तिशाली राजनीतिक वंशका वंशज रहेका ६० वर्षीय रहमानले १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली देश बङ्गलादेशको नेतृत्व गर्नुहुनेछ ।”
–पुनर्निर्मित संस्थाहरू–
बङ्गलादेशी मतदाताहरूले चुनावकै दिन युनुसको संक्रमणकालीन एजेन्डाको प्रमुख स्तम्भ राष्ट्रिय जनमतसंग्रहमा व्यापक लोकतान्त्रिक सुधारको समर्थनमा मतदान पनि गरेका थिए।
हसिनालाई सत्ताच्युत गर्ने विद्रोह सुरु भएको महिनापछि ‘जुलाई चार्टर’ भनेर चिनिने लामो दस्तावेजले प्रधानमन्त्रीहरूको कार्यकाल सीमा, संसदको माथिल्लो सदनको गठन, बलियो राष्ट्रपतिको शक्ति र अधिक न्यायिक स्वतन्त्रताको प्रस्ताव गरेको छ।
“हामीले शून्यबाट सुरु गरेका नभई त्योभन्दा पनि तलबाट सुरु गरेका छौँ,“ उहाँले भन्नुभयो ।
युनुसले भन्नुभयो, “भग्नावशेषहरू हटाउँदै हामीले संस्थाहरूको पुनर्निर्माण गर्यौँ र सुधारको बाटो तय गर्यौँ।”
जनमत सङ्ग्रहले चार्टरलाई ‘चुनाव जित्ने दलहरूबाट अनुमोदन’ गर्न अनिवार्य गरेको छ।
धेरै दलहरूले मतदान अघि प्रश्न उठाएका थिए कि सुधारहरू अझै पनि नयाँ संसदद्वारा अनुमोदन गर्न आवश्यक हुनेछ।
निर्वाचन आयोगका अनुसार बिएनपी गठबन्धनले २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेको छ ।
जमातका प्रमुख शफिकुर रहमानले आफ्नो इस्लामिक पार्टीले सतर्क, सिद्धान्तनिष्ठ र शान्तिपूर्ण प्रतिपक्षका रूपमा काम गर्ने बताएका छन् ।
नवनिर्वाचित सांसदहरूले मंगलबार शपथ लिने अपेक्षा गरिएको छ, त्यसपछि तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्नुहुनेछ ।
प्रहरीको तथ्यांकअनुसार चुनावी अभियानका क्रममा भएका राजनीतिक झडपमा पाँच जनाको मृत्यु भएको ६०० भन्दा बढी घाइते भएका छन् ।
मतदान अघि हप्तौँको उथलपुथलको बाबजुद, मतदानको दिन ठूलो अशान्ति बिना मतदान सम्पन्न भएको र देशले तुलनात्मक रूपमा शान्तिपूर्ण तरिकाबाट नै निर्वाचन परिणामहरूको स्वागत गरेको छ । एएफपी
