म्युनिख । अमेरिकी विदेशमन्त्री मार्को रुबिओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार म्युनिख सुरक्षा सम्मेलनका क्रममा भेटवार्ता भएको छ ।
रुबियोको टोलीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनपिmङलाई ह्वाइट हाउसमा आमन्त्रण गर्ने र विशेष गरी व्यापार सम्बन्धि मुद्दाहरूमा छलफल गर्ने बताएको केही दिनपछि यो वार्ता भएको हो।
रुबियो र वाङले बभेरियाको राजधानीको एक प्रमुख होटलमा भेटेका थिए तर भेटमा भएको छलफलबारे पत्रकारलाई जानकारी गराउन चाहेनन् ।
ट्रम्प गत वर्ष सत्तामा आएदेखि वासिङ्टन र पैचिङबीच करवृद्धिलाई लिएर तनाव देखिँदै आएको छ।
रुबियो र वाङले गत जुलाईमा मलेसियामा भेट गरेका थिए र त्यपछि कैयौँ पटक टेलिफोनमा कुराकानी गरेका थिए ।
रुबियोले शनिबार बहुप्रतीक्षित सम्बोधन गर्नुअघि जर्मन चान्सलर फ्रेडरिक मर्जसँग शुक्रबारसहित श्रृंखलाबद्ध बैठकहरू गर्ने तयारी गर्नुभएको छ।
सीआईएले बिहीबार जारी गरिएको नयाँ चिनियाँ भाषाको भिडियो सार्वजनिक भएसँगै जासुस भर्ती गर्ने योजना विस्तार गरेको चर्चा चलिरहेका समय यो बैठक भएको हो, जसले असन्तुष्ट सैन्य अधिकारीहरूलाई लक्षित गर्न खोजेको छ।
पैचिङले विदेशी जासुसी प्रयासविरुद्ध ‘सबै आवश्यक उपाय’ अवलम्बन गर्ने शुक्रबार बताएको छ । ए.एफ.पी.
