RayNewsDaily
मानव-हात्ती द्वन्द्व रोक्न खोप        

बैङ्कक । खेतीयोग्य जमिन विस्तार र वन क्षेत्र सङ्कुचनसँगै बढ्दै गएको मानव-हात्ती द्वन्द्वलाई नियन्त्रण गर्न थाइल्यान्डले जङ्गली हात्तीमा जन्म नियन्त्रण खोप प्रयोग गर्न सुरु गरेको छ । अधिकारीहरूका अनुसार आवासीय क्षेत्र नजिक हात्तीको तीव्र बढ्दो सङ्ख्याले जनधनमा जोखिम बढाएपछि यो कार्यक्रम अघि बढाइएको हो ।     
     
आधिकारिक तथ्याङ्कले गत वर्ष जङ्गली हात्तीको आक्रमणबाट ३० जनाको मृत्यु र २९ जना घाइते भएको देखाएको छ । साथै बाली नोक्सानीका दुई हजारभन्दा बढी घटना दर्ता भएका छन् । वन फँडानी र खेती विस्तारका कारण हात्तीहरू आफ्नो प्राकृतिक बासस्थानबाट बाहिरिन बाध्य हुँदा द्वन्द्व चर्किएको जनाइएको छ ।     
     
वन्यजन्तु संरक्षण विभागका निर्देशक सुखी बुनसाङले आवासीय क्षेत्र आसपास बसोबास गर्ने हात्तीहरूको सङ्ख्या तीव्र रूपमा बढेकाले नियन्त्रण अपरिहार्य बनेको बताउनुभयो । विभागले अमेरिकामा निर्मित २५ खुराक खोप प्राप्त गरेको र दुई वर्षसम्म सात घरपालुवा हात्तीमा परीक्षण गरिएको जानकारी दिनुभएको छ । सात खुराक प्रयोग गरिएको र उक्त परीक्षणले सकारात्मक नतिजा दिएको उहाँले बताउनुभयो । उहाँका अनुसार खोपले पोथी हात्तीमा डिम्बस्फोटन रोकेर होइन, निषेचन प्रक्रिया अवरुद्ध गरेर गर्भधारण रोक्छ ।     
     
गत जनवरीको अन्त्यमा पूर्वी ट्राट प्रान्तमा तीन जङ्गली हात्तीलाई खोप दिइएको थियो । बाँकी १५ खुराक प्रयोग गर्ने तयारी भइरहेको र कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने विषयमा अध्ययन भइरहेको उहाँले उल्लेख गर्नुभयो । खोपले सात वर्षसम्म गर्भधारण रोक्ने र त्यसपछि बुस्टर नदिए पुनः प्रजनन सम्भव हुने बताइएको छ । खोप लगाइएका हात्तीहरूलाई सो अवधिभर नजिकबाट निगरानी गरिनेछ ।     
     
तर कार्यक्रमले संरक्षण पक्षबाट आलोचना पनि खेपिरहेको छ । थाइल्यान्डमा हात्ती खेती र यातायातमा प्रयोग गर्ने शताब्दीयौँ पुरानो परम्परा छ र हात्ती राष्ट्रको प्रतीकका रूपमा मानिन्छ । सुखीले भने यो योजना हिंसात्मक द्वन्द्व बढी देखिएका क्षेत्रका जङ्गली हात्तीमा मात्र सीमित रहेको स्पष्ट पार्नुभयो । ती क्षेत्रमा वार्षिक जन्मदर ८.२ प्रतिशत रहेको छ । यो राष्ट्रिय औसत ३.५ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो । करिब चार हजार ४०० जङ्गली हात्तीमध्ये लगभग ८०० यिनै द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गर्ने बताइएको छ ।     
     
“यदि समयमै हस्तक्षेप गरिएन भने स्थानीय बासिन्दामाथि पर्ने असर असहनीय हुन सक्छ”, उहाँले चेतावनी दिनुभयो । खोप अभियानसँगै जङ्गलभित्र थप पानी र खाद्य स्रोत सिर्जना गर्ने, सुरक्षात्मक बार लगाउने तथा आवासीय क्षेत्रमा भट्किएका हात्तीलाई मार्गनिर्देशन गर्न रेन्जर्स परिचालन गर्ने जस्ता उपाय पनि लागू गरिएको छ ।     
     
यसै महिनाको सुरुमा उत्तरपूर्वी खोन केन प्रान्तमा बारम्बार झडपमा संलग्न जङ्गली हात्ती स्थानान्तरण गर्ने क्रममा एक हात्तीको मृत्यु भएपछि सार्वजनिक आलोचना बढेको थियो । प्रारम्भिक शवपरीक्षणले श्वासप्रश्वास रोकिएर मृत्यु भएको देखाएको अधिकारीहरूले बताएका छन् ।     
     
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभागका महानिर्देशक अथापोल चारोएनसुन्साले घटनाप्रति खेद व्यक्त गर्दै निर्धारित प्रोटोकल पालना गरिएको दाबी गर्नुभयो । यस्ता घटना पुनः नदोहोरियोस् भनेर अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो । एपी

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update