RayNewsDaily
नासाको पहिलो मेडिकल निकासीमा चार जना अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै        

क्याप क्यानभेरल (फ्लोरिडा) । चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार जना अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् ।     
     
अमेरिका, रुस र जापानका चारै जना अन्तरिक्ष यात्री स्पेसएक्सको क्याप्सुलमार्फत बिहीबार बिहान सान डिएगो नजिकै प्रशान्त महासागरमा सुरक्षित स्प्ल्यासडाउन गर्ने लक्ष्यमा छन् । यस निर्णयका कारण उनीहरूको मिसन एक महिनाभन्दा बढी छोटिएको नासाले जनाएको छ ।     
     
नासाकी अन्तरिक्ष यात्री जेना कार्डम्यानले फिर्ती यात्राअघि भन्नुभयो, “हाम्रो प्रस्थान समय अप्रत्याशित भए पनि यो चालक दल परिवारझैँ एक-अर्काको हेरचाह गर्दै एकताबद्ध भएको देख्नु प्रेरणादायी रह्यो ।”     
     
अधिकारीहरूले चिकित्सकीय गोपनीयताको कारण बिरामी अन्तरिक्ष यात्रीको पहिचान र स्वास्थ्य अवस्थाबारे विवरण सार्वजनिक नगरेको बताए । यद्यपि निवर्तमान स्टेशन कमान्डर माइक फिन्केले सामाजिक सञ्जालमार्फत उक्त अन्तरिक्ष यात्री ‘स्थिर, सुरक्षित र राम्रोसँग हेरचाहमा’ रहेको जानकारी दिनुभएको थियो । उहाँका अनुसार, विस्तृत चिकित्सकीय मूल्याङ्कन पृथ्वीमै गर्न उपयुक्त हुने भएकाले यो निर्णय लिइएको हो ।     
     
गत अगस्टमा प्रक्षेपण गरिएका कार्डम्यान, फिन्के, जापानका किमिया युई र रुसका ओलेग प्लाटोनोभ फेब्रुअरीको अन्त्यसम्म स्टेशनमा बस्ने योजना थियो । तर जनवरी ७ मा नासाले आकस्मिक रूपमा स्पेसवाक रद्द गर्दै चालक दल चाँडै फर्कने घोषणा गरेको थियो । स्वास्थ्य समस्या कुनै आपतकालीन नभएको र स्टेशन सञ्चालनसँग सम्बन्धित पनि नरहेको नासाले स्पष्ट पारेको छ ।     
     
नासाले स्पेसएक्सको नियमित प्रवेश र स्प्ल्यासडाउन प्रक्रिया नै अपनाइने र प्रशान्त महासागरमा रहेको रिकभरी जहाजमा चिकित्सकहरूको टोली तयारी अवस्थामा रहने जनाएको छ । अवतरणपछि चारै जना अन्तरिक्ष यात्रीलाई क्यालिफोर्नियाबाट ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टर लैजाने समयतालिका भने अझै तय भइसकेको छैन ।     
     
हाल आइएसएसमा एक जना अमेरिकी र दुई जना रूसी अन्तरिक्ष यात्री रहिरहनेछन् । नासा र स्पेसएक्सले फेब्रुअरीको मध्यतिर फ्लोरिडाबाट नयाँ चार सदस्यीय टोली प्रक्षेपण गर्ने तयारी गरिरहेका छन् ।     
     
कम्प्युटर मोडलिङले प्रत्येक तीन वर्षमा मेडिकल निकासी आवश्यक पर्न सक्ने देखाए पनि नासाले ६५ वर्षको मानव अन्तरिक्ष उडान इतिहासमा यस्तो कदम चालेको पहिलोपटक हो । विगतमा सन् १९८५ मा सोभियत अन्तरिक्ष यात्री भ्लादिमिर भास्युटिन स्वास्थ्य समस्याका कारण साल्युट-७ स्टेशनबाट चाँडै फर्किएका थिए ।     
     
नासाका नयाँ प्रशासक जारेड आइज्याकम्यानको कार्यकालको पहिलो प्रमुख निर्णय यही मेडिकल निकासी बनेको छ । निर्णय सार्वजनिक गर्दै उहाँले भन्नुभयो, “हाम्रा अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य र कल्याण सधैँ हाम्रो सर्वोच्च प्राथमिकता रहनेछ ।”  एपी

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update