RayNewsDaily
लोप भए बागलुङका पानीघट्ट    

ढोरपाटन (बागलुङ) । एक दशक अगाडिसम्म निसीखोलाका दर्जनौँ स्थानमा पानीघट्ट थिए । त्यही घट्टमा यहाँका हजारौँ नागरिकले गहुँ, मकै, फाफर, कोदोलगायत पिसानी गरेर उपभोग गर्थे । तर अहिले कुनै पनि स्थानमा पानीघट्ट भेटिँदैनन् । गाउँगाउँमा विद्युतीकरण भएपछि पछिल्लो समय टोलै पच्छिे विद्युतीय मिल बनेका छन् । ग्रामीण जनजीवनसँग जोडिएको पानीघट्ट मिलले विस्थापित बनेका छन् ।     
     
कतिपयले पानीघट्ट चलाएरै जीविकोपार्जन समेत गर्दै आएका थिए । पानीघट्ट सङ्कटमा परेपछि उनीहरुले पेसा नै बदल्नु परेको छ । निसीखोला गाउँपालिका-३ का नबहादुर मगरले करिब १२ वर्ष दुई पानीघट्ट सञ्चालन गरेर परिवार पालेको सुनाउँदै चार वर्षदेखि अरू पेसा गर्न थालेको बताउनुभयो । गाउँमा विद्युतीय मिल नहुँदा दिनमै एक मुरीसम्म मकै, गहुँ र कोदो आम्दानी गरेको भन्दै अहिले आफ्नो गाउँमा मात्रै तीनवटा बिजुलीबाट चल्ने मिल रहेको मगरले बताउनुभयो ।     
     
विद्युतीय मिलमा भन्दा पानीघट्टमा पिसेको पीठो स्वादिष्ट हुने गरेको मगरले बताउनुभयो । पानीघट्ट चल्दा खोलको पानी सदुपयोग भए पनि अहिले यतिकै खेर गइरहेको उहाँको भनाइ छ । एक दशक अगाडिसम्म निसीखोलामा मात्रै झन्डै ५० वटा बढी पानीघट्ट चल्ने गरेको भन्दै अहिले दुई/चार ठाउँमा मात्रै रहेको मगरले बताउनुभयो । ती पनि सञ्चालन नहुँदा जीर्ण बनेको उहाँ बताउनुहुन्छ ।     
     
मगरले भन्नुभयो, “गाउँमा बिजुली आएको धेरै वर्ष भएको छैन, बिजुली नहुँद पानीघट्ट र पानीमिल मात्रै चल्थे, पानी मिल बनाउन धेरै खर्च लाग्ने हुँदा एक/दुई ठाउँमा मात्रै हुन्थे, तर पानीघट्ट ठाउँ-ठाउँमा हुन्थे, मानिसले केही पिस्न परे घट्टमै जाने गर्थे, तर अहिले त टोलटोलमा नै मिल चल्ने भएपछि पानी घट्टको महत्व हरायो, घट्ट चल्ने बेला मैले महिनामै बीसौँ हजारको आम्दानी गर्थे ।”     
     
बागलुङका अधिकांश स-साना खोला किनारमा सानो टहरोमा पानीघट्ट बनाइन्यो । तर अहिले त्यो अवस्था छैन । बजारी क्षेत्रभन्दा ग्रामीण भेगमा बढी प्रचलित पानीघट्ट आधुनिक प्रविधिको विकासले लोप भएको गलकोट नगरपालिका-८ थमबहादुर खत्री बताउनुभयो । पहिले गलकोट क्षेत्रमा दर्जनौँ पानीघट्ट सञ्चालन हुने गरेको भन्दै अहिले कहीँकतै देख्न नपाइने बताउनुभयो । मिलमा भन्दा पानीघट्टमा पिसेको पीठो स्वादिष्ट हुने र महिनौँसम्म पनि ढुसी नलाग्ने उहाँको भनाइ छ । उहाँले मिलमा पिसेको पीठो एक महिनामै बिग्रिने गरेको बताउनुभयो ।     
     
“गाउँघरमा पीठो बिस्ने कि जाँतोमै हो कि त पानीघट्टमै हो, हामी सानो हुँदा एक डेढ घण्टा लगाएर घट्टमा सातु र पीठो पिस्न जाने गथ्र्यौं, घट्टमा पालो कुरेर बस्नेको लाइन हुन्थ्यो, अहिले त एउटा गाउँमा धेरै बिजुलीबाट चल्ने मिल बनाएका छन्,” खत्रीले भन्नुभयो, “छिटो पनि हुँदोरैछ, कुटानी-पिसानी दुवै काम हुनेहुँदा पानीघट्टको प्रयोग गर्न छाडिएको छ, अब त त्यो जमाना फेरि आउँदैन होला, मिलहरु पनि आधुनिक किसिमका आउन थाले ।”     
     
हरेक गाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेका छन् । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेका छन् भने त्यसका पार्टपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएको अवस्थामा छन् । गाउँमा मिलको चलन आउनुभन्दा पहिले खोला किनारमा पानीघट्ट सञ्चालन गरी केही स्थानीयले आफ्नो जीविकोपार्जन समेत त्यहीबाट गर्दै आएका थिए । तर मिलले घट्ट विस्थापित गरी दिएपछि पानीघट्ट सञ्चालकले पेसा परिवर्तन गर्नु परेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update