RayNewsDaily
दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल    

नयाँदिल्ली । भारतले आफ्नो फराकिलो राजधानी नयाँदिल्लीमा क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षा प्रयोगमार्फत वायु प्रदूषण नियन्त्रण गर्न गरेको प्रयास असफल भएको देखिएको छ । वैज्ञानिक र वातावरणीय अभियानकर्मीहरूले यस कदमको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठाएका छन् ।     
     
क्लाउड सिडिङमा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुनजस्ता कणहरू छर्काइन्छ, जसले वर्षा निम्त्याएर वायुमण्डलका प्रदूषकहरूलाई पखाल्ने अपेक्षा गरिन्छ । दिल्ली सरकारले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा गत हप्ता सहरका केही क्षेत्रमा सेस्ना विमान प्रयोग गरी परीक्षण सुरु गरेको थियो । तर पातलो बादलका कारण पहिलो परीक्षणबाट अपेक्षित परिणाम नआएपछि अत्यन्त न्यून मात्र वर्षा भएको जनाइएको छ ।     
     
वातावरणीय अभियानकर्मी भावरीन कान्धारीका अनुसार यस्तो प्रविधि ‘भ्रमपूर्ण’ हो । उहाँले भन्नुभयो, “यसले कहिल्यै काम गर्दैन । जबसम्म हामी वायु प्रदूषणका वास्तविक स्रोतहरू हटाउँदैनौँ, तबसम्म समस्या समाधान हुँदैन ।”     
     
स्थानीय सञ्चारमाध्यमका अनुसार यस परीक्षणमा सरकारले करिब तीन लाख ६४ हजार अमेरिकी डलर खर्च गरेको छ । हरेक जाडोमा बाक्लो धुवाँले दिल्ली र यसका करिब तीन करोड बासिन्दालाई घेरिरहेको हुन्छ । चिसो मौसममा खेतमा आगो लगाउने, कारखानाबाट निस्किने धुवाँ र सवारीसाधनका उत्सर्जनले वायुमण्डललाई विषाक्त बनाउँछ ।     
     
सवारीसाधनमा प्रतिबन्ध, धुवाँ सोस्ने टावर र कुहिरो छर्किने ट्रकजस्ता प्रयासहरूका बावजुद पनि दिल्लीको हावाको गुणस्तर विश्वका राजधानीहरूमध्ये सबैभन्दा खराब अवस्थामा रहेको छ । पछिल्लो परीक्षणको भोलिपल्ट मात्रै क्यान्सर उत्पन्न गर्ने सूक्ष्म कण एः २.५ को स्तर ३२३ पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनले तोकेको दैनिक सीमा भन्दा करिब २० गुणा बढी हो । विशेषज्ञहरूले यस अवस्थालाई आगामी दिनमा अझ बिग्रिने अनुमान गरेका छन् ।     
     
सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको अध्ययन द ल्यान्सेट प्लानेटरी हेल्थ पत्रिकामा प्रकाशित छ । यसबीच, क्लाउड सिडिङमा प्रयोग गरिएका रसायनहरूको दीर्घकालीन प्रभावबारे पनि चिन्ता व्यक्त गरिएको छ । अमेरिकी वातावरणीय संरक्षण एजेन्सीका अनुसार सीमित अध्ययनले सिल्भर आयोडाइडले गम्भीर स्वास्थ्य जोखिम उत्पन्न नगरेको देखाए पनि यसको व्यापक प्रयोगका दीर्घकालीन असरहरू अझै अज्ञात छन् ।     
     
वातावरणीय विज्ञहरूका अनुसार क्लाउड सिडिङले वर्षा गराउन सफल भए पनि यसको प्रभाव अत्यन्तै अल्पकालीन हुन्छ । कर्नेल विश्वविद्यालयका जलवायु वैज्ञानिक डेनियल भिजनीले भन्नुभयो, “यदि हावामा पर्याप्त आद्र्रता छैन भने यो प्रविधिले वर्षा उत्पन्न गर्न सक्दैन । यसले वर्षालाई एक ठाउँमा केन्द्रित गर्न सक्छ, तर प्रदूषण हटाउने स्थायी उपाय होइन ।” उहाँका अनुसार प्रदूषण घटाउने एकमात्र विवेकपूर्ण उपाय भनेको जीवाश्म इन्धनको दहन कम गर्नु हो ।     
     
दिल्लीका सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का वीरेन्द्र सचदेवले भने यस प्रयासलाई असफल भनेर खारेज गर्न हतार नगर्न आग्रह गर्नुभयो । उहाँका अनुसार यो अनुसन्धान प्रक्रियाको हिस्सा हो । सफलता सधैँ पहिलो प्रयासमै पाइँदैन ।     
     
तर आइआइटी दिल्लीका वायुमण्डलीय वैज्ञानिक शाहजाद गनी र कृष्ण अच्युतरावले भने क्लाउड सिडिङ योजनालाई ‘विज्ञानको गलत प्रयोग र नैतिकताको बेवास्ता गरिएको उदाहरण’ भन्नुभएको छ । दिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इन्भाइरनमेन्टका विज्ञ मोहन जर्जले पनि कृत्रिम वर्षा कुनै दीर्घकालीन समाधान नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा रोकिएपछि प्रदूषण फेरि उस्तै स्तरमा पुग्छ ।”     
     
सन् १९४० को दशकमा पहिलोपटक विकसित गरिएको क्लाउड सिडिङ प्रविधि विश्वका विभिन्न देशहरूमा वर्षा गराउन, कुहिरो हटाउन र खडेरी घटाउन प्रयोग गरिँदै आएको छ, तर परिणाम प्रायः मिश्रित नै देखिएका छन् । चीनले पनि सन् २००८ को बेइजिङ ओलम्पिकका क्रममा मौसम नियन्त्रणको प्रयासस्वरूप यस प्रविधिको प्रयोग गरेको थियो ।     
     
गनी र अच्युतरावका अनुसार दिल्लीको प्रदूषणका कारणहरू अनियन्त्रित उत्सर्जन र मौसमी बाली जलाउने प्रमुख कारण हुन् भन्ने सबैलाई थाहा छ । समाधान पनि स्पष्ट छ- स्वच्छ इन्धनको प्रयोग, सशक्त फोहोर व्यवस्थापन र नियमको कडा कार्यान्वयन । तर उहाँहरू भन्नुहुन्छ, “यी प्राथमिकताहरूले बलियो बनाउनुको सट्टा वैज्ञानिक समुदायका केही भागहरू र संस्थाहरूले सङ्कटको मूल स्रोतलाई सम्बोधन नगरी थोरै मात्र काम गर्ने महँगो दृश्यलाई विश्वसनीयता दिइरहेका छन् ।”  एएफपी

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update