लागूऔषध सहित दुई भारतीय नागरिक पक्राउ
Sunday, June 21st, 2020, 5:14 pm
सुनसरी, ७ असार । सुनसरीमा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउपालिका–७ हरिपुरस्थित भित्रीसड्क खण्डबाट दुई भारतीय नागरिकलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० वर्षीय लक्ष्मणकुमार पासवान र सोही स्थानका १९ वर्षीय अर्जुनकुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिई उनीहरूको शरीर खानतलासी गर्दा कालो प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागूऔषध ब्राउनसुगर, भारतीय रुपैयाँ १२५०, र भारतका विभिन्न बैंकका एटीएम कार्डसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।