अब चीनसँगको सीमांकन टुंगो लगाउनुपर्छ: सीमाविद श्रेष्ठ
Sunday, June 21st, 2020, 5:10 pm
काठमाडौं, असार ७ । सीमाविद बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाकङ्न टुंगो लगाउनुपर्ने बताएका छन् ।
लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रिदेशिय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए ।
चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशिय विन्दु कायम भएपनि नेपालको २ वटा विन्दुसमेत कायम नभएको उल्लेख गर्दै उनले चीनलाई सिमाङ्कन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशिय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने बताए ।
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने बताए ।
सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने उनले बताए ।
केन्द्रीय तथ्याङ्क विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै उनले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिइ नेपालमा रहेका कुटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए ।