सप्तरीका ७१ जना कोरोनामुक्त हुँदै घर फर्किए
Sunday, June 21st, 2020, 12:09 pm
राजविराज, असार ७ । सप्तरीमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ७१ पुगेको छ । शनिबार साँझ एक महिलासहित १४ जना निको भएसँगै सप्तरीका विभिन्न स्थानीय तहहरूमा कोरोनामुक्त हुनेको संख्या ७१ पुगेको हो ।
गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजितकुमार झाले शनिबार साँझ १४ जना निको भएको जानकारी दिए । उनका अनुसार छिन्नमस्ता गाउँपालिकाका ५, राजविराज नगरपालिकाबाट ३ जना, हनुमाननगर कंकालिनी नगरपालिकाबाट ५ जना र शम्भुनाथ नगरपालिकाबाट आइसोलेसनमा भर्ना भएकाहरु निको भएर घर फर्केका छन् ।
कोरोना भाइरस (कोभिड–१९) व्यवस्थापन समितिका संयोजक डा. झाका अनुसार १ सय ५४ हालसम्म आइसोलेसनमा भर्ना भएका छन् । हाल ८३ जना उपचारको क्रममा रहेका छन् ।
राजविराज स्थित साईकृष्णा अस्पतालमा भर्ना भएकाहरुमध्ये गत सोमबार १३ जना निको भएर डिस्चार्ज भएका थिए ।