फेसबुकले हटायो राष्ट्रपति डोनल्ड ट्रम्पको विज्ञापन
Friday, June 19th, 2020, 5:22 pm
काठमान्डौ, ५ असार। फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विज्ञापनलाई हटाइदिएको छ ।
उल्टो रातो त्रिकोण भएको अपमानजनक चिन्हको प्रयोग गरेको भन्दै फेसबुकले ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनमा हटाइदिएको हो । उक्त विज्ञापन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका नाममा खोलिएका फेसबुक पेजहरूमा प्रकाशन गरिएको थियो । करिब २४ घण्टासम्म रहेका ती विज्ञापनहरू फेसबुकले हटाउनु अघि लाखौँले हेरिसकेका छन् ।
उक्त विज्ञापनले नीतिको उल्लङ्घन गरेको हुदा विज्ञापन हटाइदिएको फेसबुकले बताएको छ । उल्टो रातो त्रिकोण जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे । ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको छ ।
उक्त समूहले त्यो चिन्ह प्रयोग गर्ने गरेको उनीहरूको दाबी छ । ट्रम्पको चुनावी अभियानका प्रवक्ताले फेसबुकले इमोजीका रूपमा प्रयोग गर्दै आएको उल्टो रातो त्रिकोण चिन्ह उनिहरूले प्रयोग गरेको चिन्ह जस्तै रहेको बताएका छन् ।