क्वारेन्टीनमै बुवाको किरिया
Friday, June 19th, 2020, 4:58 pm
बैतडी, असार ५ । बैतडीका एक जना क्वारेन्टीनमै किरियामा बसेका छन् । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लिलाधर भट्ट आफ्ना बुवाको किरिया गर्न क्वारेनटाइनमै बसेका हुन् ।
भारतको दिल्लीमा काम गर्दै आएका भट्ट चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेनटाइनमा बसिरहेका छन् । भट्टका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेनटाइनमै किरिया सुरु गरेको हुन् ।
घरमै बसेर किरिया गर्न व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीय केशव भट्टले जानकारी दिए ।
भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेनटाइनमा राख्नुपर्ने निर्देशन अनुसार नै उनलाई क्वारेनटाइनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।
लिलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए ।