प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठ भन्छन्: युटुबका कारण छापा पत्रकारिता ‘डाइनोसर’ बन्दैछ
Friday, June 19th, 2020, 3:04 pm
मेलम्ची, असार ५ । प्रेस काउन्सिल नेपालका कार्यवाहाक अध्यक्ष किशोर श्रेष्ठले छापा पत्रकारिता ‘डाइनोसर’ बन्ने अवस्थामा पुगेको बताएका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको चौतारामा प्रेस काउन्सिल नेपालले आयोजना गरेको साहित्यक पत्रकारिता र पत्रकार आचारसंहिता कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले अहिले मौलाईरहेको विद्युतिय सञ्चारमाध्यमका कारण छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको बताए ।
उनले भने, ‘अहिले युट्युबहरू यसरी फस्टाइरहेका छन्, जसले गर्दा छापा पत्रकारिता उठ्न नसक्ने अवस्थामा पुगेको छ । पत्रकारहरूले तलब पाएनन् भनेर आत्महत्यासम्म गर्न बाध्य भएका उदाहरण छन् । जसका कारण छापा माध्यमका पत्रकारहरूले आफूले ‘अपग्रेड’ गर्न जरुरी रहेको उनले बताए ।
विभिन्न कारणले गर्दा नेपालको विज्ञापन बजार ओरालो लाग्दै गरेको कारण सञ्चार क्षेत्र समस्यामा परेको कारण अबको पत्रकारिता रगत र पसिना बगाएर गर्नुपर्ने श्रेष्ठको तर्क थियो ।
साहित्यिक पत्रकारिताको कुरा गर्दै उनले जेनतेल चलिरहेको बताए । उनले भने, ‘साहित्यलाई कसैले चासो नदेखाउँदा जेनतेन चलिरहेको छ । काउन्सिलले साहित्यिक पत्रकारिताको वर्गीकरण गरी केही हदसम्म सहयोग गरेका कारण अलि सहज बनेको छ ।’