चीनसँगको विवादबारे छलफल गर्न मोदीले डाके सर्वदलीय बैठक
Friday, June 19th, 2020, 2:59 pm
नयाँ दिल्ली, असार ५ । चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि सो भर्चुअल बैठक बोलाएको प्रधानमन्त्रीको कार्यालयद्वाारा जानकारी गराइएको छ । सो बैठकमा भारतका प्रमुख राजनीतिक दलहरुका अध्यक्षहरुको सहभागिता रहने बताइएको छ ।
भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो । त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ ।
उक्त हिंसापछि भारत र चीनबीच सीमा विवाद बढ्दो रहेको देखिएको छ । यी दुई देशकाबीचमा सीमा क्षेत्रको विषयलाई लिएर भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले पनि चासो व्यक्त गरेको बताइएको छ ।
सीमामा भएको यो हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि चासो व्यक्त गरेका थिए । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी भारतीय सैनिकको ज्यान गएको घटनाबारे उनले चासो व्यक्त गरे ।
साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि हालैमात्र आह्वान गरेका थिए ।