राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण
Thursday, June 18th, 2020, 8:15 pm
काठमाडौं, असार ४ । राष्ट्रपति बिद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने पारित भएको संविधान संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’
प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।
राष्ट्रिय सभाबाट पारित भई पुन: प्रतिनिधि सभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका थिए ।
यससँगै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।