डेक्सामेथासोन खतरनाक हुनसक्ने चिकित्सकहरूको चेतावनी
Thursday, June 18th, 2020, 7:07 pm
काठमान्डौ, ४ असार। कोरोना भाइरसका गम्भीर बिरामीको उपचारमा आशा देखाएको डेक्सामेथासोन खतरनाक हुनसक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । केही रोगको गम्भीर अवस्थामा विशेषज्ञ चिकित्सकको सल्लाह तथा निगरानीमा मात्रै बिरामीलाई डेक्सामेथासोन दिन सकिने हुदा यसको प्रयोगबारे सचेत हुनुपर्ने चिकित्सकहरूले बताएका छन् ।
बिबिसीमा उल्लेख गरिए अनुसार ब्रिटेनमा गरिएको अनुसन्धानबाट अहिले नै खुशी हुनु पर्ने अवस्था नरहेको नेपालका चिकित्सकहरूले बताएका हुन् । कोरोना भाइरसका कारण गम्भीर बिरामी भएकाहरूको जीवन जोगाउन डेक्सामेथासोनको प्रयोग गर्न सकिने बताइएपनि कतिपय रोगका गम्भीर बिरामीको हकमा औषधि काम नगर्ने भएकोले कोभिड-१९ हुँदैमा सबैलाई प्रयोग गर्ने नमिल्ने श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ डा. अर्जुन कार्की बताउछन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थि छाती रोग विशेषज्ञ तथा कोभिड व्यवस्थापन समितिका संयोजक डा. शान्तकुमार दास पनि डा. कार्कीको कुरामा सहमती जनाउदै रोगप्रतिरोधक क्षमतालाई कमजोर बनाउने हुदा डेक्सामेथासोनको प्रयोग खतरनाक हुन सक्ने बताउछन् । डेक्सामेथासोनले मधुमेह, रक्तचाप र अरू ब्याक्टेरीयल सङ्क्रमणलाई बढाउन तथा अल्सर समेत गराउन सक्छ ।
ब्रिटिश अनुसन्धानकर्ताहरूले डेक्सामेथासोनले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एकजना र अक्सिजन दिइएका २५ जनामा एक जनाको जीवन जोगाउने देखिएको थियो । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एदोनहोम गेब्रियासेसले कोरोना विरुद्धको लडाईंमा डेक्सामेथासोनले गम्भीर बिरामीहरूलाई फाइदाजनक प्रभाव पार्ने देखिएको बताएका छन् ।