मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विन परीक्षणलाई डब्लूएचओले रोक्यो
Thursday, June 18th, 2020, 6:59 pm
काठमान्डौ, ४ असार। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्विन परीक्षणलाई पुनः रोक लगाएको छ । केहि दिन अघि मात्र अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना संक्रमितको आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचीबाट हटाएको थियो ।
केही समयअघि द लानसेट जर्नलमा प्रकाशित अनुसान्धानमा कोरोना संक्रमित बिरामीलाई हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले मृत्युको जोखिम बढाउने र गम्भीर खालको मुटु सम्बन्धी समस्या हुने देखिएपछि डब्लूएचओले यसमा रोक लगाएको थियो । लानसेटले आफ्नो अनुसन्धानमा केही तथ्य तलमाथि पर्न गएको भन्दै प्रतिवेदन फिर्ता लिएपछि डब्लूएचओले हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण पुनः खुला गरेको थियो ।
तर, विभिन्न देशमा गरिएका परीक्षणमा यो औषधिले कोरोना संक्रमितलाई कुनै फाइदा नपुगेको देखिएपछि कोरोना संक्रमितका हाइड्रोक्सिक्लोरोक्विन परीक्षण खुला गरेको डब्लूएचओले फेरि यसमा प्रतिबन्ध लगाएको हो । डब्लूएचओले यो औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न निर्देशन समेत दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि कोरोना भाइरसविरुद्धको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै बताउदै आएका छन् ।