उपचार गराउन अस्पताल आएका तीन जनामा कोरोना देखिएपछि…
Thursday, June 18th, 2020, 5:37 pm
सुर्खेत, असार ४ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आएका ३ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा कोरोना आतंक मच्चिएको छ ।
हिजो बेलुका उपचार गराउन आएका नागरिकको कोरोना रिपोर्ट आएपछि अस्पताल प्रशासनले गए रातिदेखि सिल गरिएको ईमर्जेन्सी कक्ष आज बिहानदेखि खोलिएको हो ।
कोरोना आतंकले आज अस्पतालमा न्यून चिकित्सक, स्वास्थ्यकर्मी अति आवश्यक विरामी मात्र देखिएका थिए ।
समुदाय स्तरबाटै उपचार गराउन जेठको ३१ र ३२ गते दैलेखबाट आएका दुई जना बिरामी र सुर्खेतका १ जनामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी भयभित भएका छन् ।
प्रदेश अस्पतालको इमेरजेन्सि वार्डमा उपचार गराईरहेका तिनै जनामा कोरोना पोजेटिभ देखिएपछि नियमित जाँच तथा रेखदेखमा रहेका चिकित्सक तथा नर्ससहित ४० जना स्वास्थ्यकर्मीको टोली होम क्वारेन्टाइनसँगै केही होटलका कोठाहरुमा सेल्फ क्वारेन्टाइनमा रहेको प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए ।
उनले अस्पतालमा अति आवश्यक विरामी बाहेक अनावश्यक भिडभाड नगर्न सर्वसाधारणलाई समेत आग्रह गरे ।