सेनालाई दिइयो झापा कारागारको सुरक्षा जिम्मा
Thursday, June 18th, 2020, 5:01 pm
झापा, ४ असार । झापा कारागार भद्रपुरको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । कारागारको सुरक्षा दिँदै आइरहेको नेपाल प्रहरीलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अन्यत्र खटाइएपछि कारगार सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो ।
चारालीस्थित नयाँ श्रीनाथ गणबाट खटिएका सेनाले कारागारको सुरक्षाको जिम्मा लिएको बताइएको छ । भारतसँगको सीमा नाकामा हुने भीड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिएका छन् ।
जिल्ला सुरक्षा समितिअन्तर्गत बाहिरी सुरक्षा सेनाले गर्ने र प्रहरीले आन्तरिक अत्यावश्यक काम समन्वय गरी मिलाइने नयाँ श्रीनाथ गणका कर्णेल अमरजगं थापाले बताए ।
कारागारमा रहेका प्रहरीले कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने–ल्याउने र भेटघाटको व्यवस्थापन गर्ने बताइएको छ । हाल कारागारमा महिला तथा पुरुष कैदीबन्दी गरी १ हजार १४० जना रहेका छन् ।