कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो, बिहीबार बिहानसम्ममा थप दुईजनाको मृत्यु
Thursday, June 18th, 2020, 3:35 pm
धनगढी, असार ४ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । बिहीबार बिहान थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको आईसियुमा उपचार भइरहेका कोरोना संक्रमित कैलालीको गोदावरी नगरपालिका निवासी ४६ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार स्वास्थ्य अवस्था जटिल बन्दैगएपछि आईसियुमा राखेर उपचार भइरहेका ती पुरुषको गएराति मृत्यु भएको हो ।
‘स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं पठाउन एयर एम्बुलेन्सको ब्यस्थापन भइरहेको थियो, चिकित्सकको पूरै टोली बचाउन लागिपरेको थियो, त्यही अवस्थामा उनको मृत्यु भयो,’ श्रेष्ठले बताए ।
गत शनिबार कोरोना संक्रमण पुष्टि भएका ती पुरुष यातायात ब्यवसायी भएको खुलेको छ । शव ब्यवस्थापनको काम नेपाली सेनाको टोली गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा आत्महत्या गर्ने पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
४४ वर्षीय पुरुषले बुधवार बिहान क्वारेन्टाइन नजिकै रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।
शितगंगा नगरपालिकाका मेयर सूर्यप्रसाद अधिकारीले रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । भारतको पञ्जावबाट आएका उनको आरडीटी परीक्षणमा एन्टीबडी देखिएको थियो ।
उनी भारतबाट जेठ १० गते आएका थिए ।
उनको कोरोना पोजेटिभ देखिएपछि सेनाले नजिकैको जंगलमा लगेर खाल्डो खनेर अन्त्येष्टि गरेको छ ।