राष्ट्रिय सभाबाट आज पारित हुँदै संविधान संशोधन विधेयक
Thursday, June 18th, 2020, 10:30 am
काठमाडौँ,४ असार । संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित हुने भएको छ ।
राष्ट्रिय सभाको बिहीबार ११ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथीको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि सदनमा उक्त विषयमा दफावार छलफल हुने संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
राष्ट्रिय सभाबाट पारित भएपछि संविधान संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा जानेछ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनेछन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिमार्जन हुनेछ र परिमार्जित निसान छाप प्रयोगमा आउनेछ ।