पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो
Wednesday, June 17th, 2020, 3:24 pm
पर्वत, असार ३ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालवारीमा पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटिएको छ ।
शनिबार गएको पहिरोमा पुरिएका १३ वर्षीय जेनिस विकको शव बुधबार बिहान फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
आज शव भेटिएका बालक जेनिसका आमा ३० वर्षीय कमला विक र उनकी बहिनी ८ वर्षिय प्रमिसा विकको भने आइतबार शव भेटिएको थियो ।
छिमेकी तुलबहादुर थापा, मीनाकुमारी थापा र बिबिसा थापाको शनिवार राति नै शव भेटिएको थियो भने दीपा थापा, बिबेक थापा र सम्राट थापाको आइतबार शव भेटिएको थियो ।
योसँगै पहिरोमा पुरिएका नौ जनाको शव फेला परेको छ । आठ जनाको शव सोमबार अन्त्येष्टि गरिसकिएको छ । पहिरो गएको क्षेत्रमा अन्य २० घर पनि जोखिममा रहेका वडाध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिएका छन् ।