ताप्लेजुङमा पहिरोले विद्यालयको भवन भत्कायो, स्थानीयको गोठ पनि बग्यो
Wednesday, June 17th, 2020, 3:19 pm
ताप्लेजुङ, ३ असार । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा गए राति ११ः०० बजे तिर गएको पहिरोले एक विद्यालयको भवनसहित स्थानीयको गोठ बगाएको छ ।
विद्यालय माथिदेखि आएको पहिरोले रानी आधारभूत विद्यालयका चार कोठे पक्की भवनसहित विद्यार्थीको खाजा घर, पुस्तकालय लगायतको सामग्री बगाएको विद्यालयका शिक्षक प्रेम खतिवडाले जानकारी दिए ।
शिक्षक खतिवडाका अनुसार इखावु साविक १ रेञ्जीङ तामाङको घर छेउबाट सुरु भएको पहिरोले रानी आधारभूत विद्यालयको चार कोठे पक्की भवन भत्काएको हो ।
खाजाघर र शौचालयसमेत बगाउँदा ६० जोडी डेस्कबेन्च, विद्यार्थीलाई खाजा पकाउने भाँडाकुँडा, थाल, बटुका लगायतका सबै सामान बगाएको छ ।
उनले पहिरोले स्थानीयको गोठसमेत बगाएको जानकारी दिए । भक्तबहादुरको भान्साघर बगाउनुका साथै सुँगुर पुरेको छ भने फुलबहादुर तामाङको बाख्राको गोठ पुरेको पहिरो गएको ठाउँमा रहेका खतिवडाले बताए ।
दुई वर्षअघि पनि सो क्षेत्रमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो ।