हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी नदेखिएपछि एफडिएले रोक्न लगायो यसको प्रयोग
Tuesday, June 16th, 2020, 11:59 am
कोरोना भाइरसबाट संक्रमितहरूको उपचारमा आपतकालीन रुपमा प्रयोग हुँदै आएको मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग अमेरिकामा रोक लगाइएको छ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसविरुद्ध काम गर्ने नदेखिएको हुदा आपतकालीन उपचारमा प्रयोग गर्ने औषधिको सूचिबाट हटाएको हो ।
क्लिनिकल परीक्षणबाट प्राप्त नयाँ प्रमाणहरूले हाइड्रोक्सीक्लोरोक्वीन भाइरसको उपचारमा प्रभावकारी नहुने र बिरामी नभएकाहरूमा संक्रमणको जोखिम कम गर्नका लागि प्रभावहीन रहेको पत्ता लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एफडिएले हाइड्रोक्सिक्लोरोक्वीनको अनुमति फिर्ता लिएपछि ट्रम्पले आफूले उक्त औषधि खाएको र त्यसको कुनै साइड इफेक्ट नदेखिएको भन्दै बचाउ गरेका छन् ।
आफूले दुई हप्तासम्म हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गरेको र आफूलाई अरू धेरै व्यक्तिले पनि यो औषधिले जोगाएको बताएको ट्रम्पको भनाई छ । एफडिएले गएको मार्चमा कोरोना भाइरसबाट संक्रमित भएका केही गम्भीर बिरामीको आपतकालीन उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको थियो ।
तर, सोमबार एफडिएले पछिल्ला परीक्षणबाट यो औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने नदेखिएको हुदा यसलाई प्रतिबन्ध गरिएको उल्लेख छ ।