११ महिने बालक कोरोनामुक्त हुँदै घर फर्किए
Tuesday, June 16th, 2020, 10:41 am
कञ्चनपुर, २ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना संक्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि बालक सुनारलाई डिस्चार्ज गरिएको बताए ।
कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बिदाइ गरेका थिए ।
अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका–२ का ५० वर्षीय, महाकाली नगरपालिका–३ का ३८ वर्षीय र कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका १८ र ३८ वर्षीय पुरुषलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो । अस्पतालमा ३० कोरोना संक्रमित उपचाररत छन् ।