खहरे खोला र नदीमा वहाव बढ्दो, सतर्कता अपनाउन अपिल
Tuesday, June 16th, 2020, 8:42 am
काठमाडौं,असार २ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ।
महाशाखाको विहान ६ बजेको बुलेटिनअनुसार काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको र प्रदेश १ र २ मा थप वर्षा हुने भन्दै खहरे खोला र नदीको तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो।
महाशाखाका अनुसार पछिल्लो ३ घन्टामा झापा, मोरङ, सुनसरी, उदयपुर ,प्रदेश २ को अधिकांश स्थान, सिन्धुली, रामेछाप, दोलखा, मकवानपुर,चितवन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमान्डौ उपत्यका,धादिङ, नुवाकोट, नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, बागलुङ, रूपन्देही, कपिलवस्तु आसपास अधिकांश स्थानमा मध्यम बर्षा र केही स्थानमा भारी बर्षा भइरहेको छ।
प्रदेश २ र १ को तराईको भू(भागमा थप केहि समय मध्ययम बर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले कन्काई, कमला, बागमती नदीमा बहाव बढ्दो मात्रामा रहेको तर सतर्कता तहभन्दा तलै हुने जानकारी दिएको छ।
तर, चुरे र तराईबाट बहने त्रियुगा, माहुली,खाडो, गागन, रातु, चुरिया खोला, बालन खुट्टी, महरा, जिमखोला, लखन्दी लगायत प्रदेश २ र प्रदेश १ को तराईको भूभाग भई बहने ससाना खहरे खोलामा बहाव बढ्ने, केहीमा आकस्मिक बहाव पनि हुनसक्ने भन्दै आज मध्यान्नसम्म ससाना नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।