सुशान्तको हत्या भएको आशंका, परिवारले गरे अनुसन्धानको माग
Monday, June 15th, 2020, 1:54 pm
पटना, बिहार, १ असार । भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभइ उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् ।
आइतबार आत्महत्या गरेका भनिएका सुशान्तका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका हुन् ।
कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो ।
तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्, ‘उनले आत्महत्या गरेको भन्नेबारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरूले यसको विरोध गरेका छौँ । उनको हत्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।’
बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताएका छन् ।