८३ दिनपछि आजबाट खुले सरकारी कार्यालयहरू
Monday, June 15th, 2020, 12:25 pm
काठमान्डौ, १ असार । सरकारी तथा गैरसरकारी कार्यालयहरु लक डाउनको ८३ दिनपछि खुलेका छन् ।
सरकारको निर्णयअनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् । विहान ८ बजेटबाट दिउँसो १ बजेसम्म र १ बजेटबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् । सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पनि सञ्चालनमा आएका छन् ।
लक डाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ । सरकारले जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेपनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ । कार्यालय प्रवेश गर्नुअगाडी सामाजिक दुरी कायम गर्दै तापक्रम लिने गरिएको छ । हात धोएर कार्यालय भित्र समेत सामाजिक दुरी कायम गर्नुपर्ने बताइएको छ ।
सेवाग्राहीहरुले समेत सेवा लिँन जाँदा सामाजिक दुरी कायम गर्नुपर्ने छ । मन्त्रिपरिषद्को जेठ २८ गतेबसेको बैठकले आजबाट कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । लक डाउन खुकुलो भएपनि मानिसबो बढी भिडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमति प्राप्त बाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलन सबै लगायतका क्षेत्र बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ ।