१३ अप्रिलपछि चिनमा एकैदिन सबैभन्दा बढी संक्रमित भेटिए
Sunday, June 14th, 2020, 2:52 pm
शनिबार चिनमा ५७ जना नयाँ संक्रमित भेटिएका हुन् । १३ अप्रिलदेखि हालसम्म चीनमा दैनिक संक्रमण पुष्टि भएकामध्ये यो संख्या अहिलेसम्मकै उच्च रहेको छ ।
चीनको राष्ट्रीय स्वास्थ्य प्राधिकरणले शनिबारको नयाँ संक्रमितको डाटा सार्वजनिक गरेको हो । नयाँ संक्रमितमध्ये १९ जना विदेशबाट आएका हुन् । नयाँ थपिएका संक्रमितमध्ये ३८ जनालाई स्थानीय समुदायमा संक्रमण फैलिएको जनाइएको छ । तीमध्ये ३६ जना राजधानी बेइजिङका मात्र हुन् ।
एक दिनअघिसम्म बेइजिङमा ६ जना मात्र संक्रमित थपिएका थिए । चिनियाँ सरकारले बेइजिङमा कोरोना भाइरसको संक्रमण सम्बन्धी तथ्याङक सार्वजनिक गर्न थाले यताको यो सबैभन्दा ठूलो संख्या रहेको छ । फेङताई जिल्लाको एक बजारमा व्यापक मात्रामा परीक्षण गर्दा एकैचोटि ३६ जना संक्रमित भेटिएको हो ।
बेइजिङमा कोरोना संक्रमणको नयाँ लहर फैलिने डरले शनिबार सबै खेल र पर्यटन सम्बन्धी कार्यक्रमहरू रद्द गरिएका थिए । चिनमा अब १ सय २९ जनाको उपचार भइरहेको छ । चीनमा हालसम्म संक्रमितहरुको संख्या ८३ हजार १ सय ३२ पुगेको छ जसमध्ये ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।