पर्वतको पहिरो : बेपत्ता नौमध्ये ८ जनाको शव भेटियो
Sunday, June 14th, 2020, 2:09 pm
पर्वत, जेठ ३२ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका नौजनामध्ये ८ जनाको शव फेला परेको छ भने एकजना अझै बेपत्ता छन् ।
शनिबार साँझ ८ बजे भीषण वर्षासँगै आएको पहिरोमा पुरिएको दुई घरका नौजनामध्ये अहिलेसम्म ५८ वर्षीय तुलवहादुर थापा, ५७ वर्षीया मीनाकुमारी थापा, ३४ वर्षीय दीपा थापा, १४ वर्षीय विवेक थापा, ४ वर्षीया विविसा थापा र ११ वर्षीय सम्राट थापाको शव फेला परेको हो ।
त्यस्तै ३० वर्षीया कमला विक र कमलाका छोरी ८ वर्षीय जेनिसा विकको पनि शव भेटिएको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका कमला विकका १२ वर्षीय छोरा जेनिस विकको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
पहिरोमा बेपत्ता भएका तीन जनाको हिजो बेलुका नै शव फेला परेको थियो भने बिहानबाट खोजी गर्दै जाँदा अहिलेसम्म थप पाँच जनाको शव फेला पारिएको रेग्मीले बताए ।
घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन् ।
राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । बिहानबाट पुनः उद्धारकार्य सुरु भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।
शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो ।
पहिरोले उनीहरूका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो ।