पर्वतमा पहिरोले पुरिएकामध्ये ६ जनाको शव भेटियो
Sunday, June 14th, 2020, 1:53 pm
पर्वत, जेठ ३२ । पर्वतमा पहिरोमा पुरिएकामध्ये ६ जनाको शव भेटिएको छ भने तीन जनाको खोजी जारी रहेको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको हो भने अझै तीन बेपत्ता छन् ।
पहिरोमा पुरिएकामध्ये नौमध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।
घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । अन्य तीन जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन् । राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । बिहानबाट पुनः उद्धारकार्य सुरु भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए ।
शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । पहिरोले उनीहरूका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो ।