बल्ल रोकियो कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुनेक्रम
Sunday, June 14th, 2020, 11:08 am
काठमाडौं, जेठ ३२ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको जनाएको छ ।
एनआरएनएका अनुसार ८ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले कसैको निधन भएको छैन । विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको एनआरएन, स्वास्थ्य समितिले जानकारी दिएको छ ।
डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, ?स, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब नौ हजार नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
समितिले संकलन गरेको तथ्यांकानुसार विदेशमा रहेका १७ हजार ७९२ नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन् ।
समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १२७ विदेशमा तथा नेपालमा १८ जना नेपालीको निधन भएको छ ।
सापकोटाका अनुसार नेपालका पाँच हजार ३ सय ३५ सहित ३५ देशमा २३ हजार १२७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको ज्यान गएको थियो ।