संविधान संशोधनको प्रस्तावमा १७ जना सांसदले दिएनन् मत
Saturday, June 13th, 2020, 9:36 pm
काठमाडौं, जेठ ३१ । संविधान संशोधनको प्रस्ताव आज पारित गरियो । नक्सा पारित गर्न संसदमा मतदान गर्न भनिएको थियो । तर मतदानमा १७ जना सांसद अनुपस्थित भए। सत्तारुढ दल नेकपाकै सांसद यस्तो बैठकमा मत दिन उपस्थित भएनन् ।
आज बसेको संसदको तल्लो सदन प्रतिनिधि सभा बैठकले मुलुकको नयाँ नक्शा पारित गरेको थियो । तर यस्तो ऐतिहासिक निर्णय गर्ने बैठकमा भने १७ सांसद निर्णय प्रक्रियामा सामेल भएनन् ।
प्रतिनिधि सभाको बहाल रहेको २ सय ७५ सदस्यमा २ सय ५८ जनाले मात्र मत दिएका हुन् । निर्णयका लागि भएको बैठकमा उपस्थित भएका सबै अर्थात् २ सय ५८ जनाले नै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्शालाई सर्वसम्मत अनुमोदन गरेका थिए । उक्त निर्णयसँगै अब संविधानको अनुसूचीमा रहेको निशान छाप अद्यावधिक हुनेछ ।
संविधान संशोधनमा अनुपस्थित हुने सांसदहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हरिबोल गजुरेल, शिवकुमार मण्डल, गोपालबहादुर बम र धनबहादुर बुढा छन् । यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सूर्यबहादुर केसी, र ज्ञानकुमारी छन्त्याल रहेका छन्।
राजपाकी अमृतादेवी अग्रहरी, दुलारीदेवी खत्वेनी, प्रमोद साह, समाजवादी पार्टीकी सरिता गिरि, सूर्यनारायणण यादव र नागेन्द्रकुमार चौधरी पनि उक्त बैठकमा उपस्थित भएनन् ।
यसैगरी हत्यालगायतका विभिन्न आरोप लागि निलम्बित भएका कारण संसद बैठकमा भाग लिन नपाउने विजयकुमार गच्छदार, आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरीले पनि मत दिन पाएनन् ।
यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले पनि मत दिन पाएनन् । संविधानतः सभामा पेश भएको कुनै प्रस्तावमा निर्णायक मत दिनु परेमा मात्र सभामुखले मत दिन पाउने अधिकार भएकाले उनले मत दिन नपाएका हुन् ।