त्रिशूलले हानेर हत्या, हत्या आरोप लागेका घाइते अवस्थामा पक्राउ
Friday, June 12th, 2020, 2:20 pm
हापुरे, जेठ ३० । पश्चिम दाङमा त्रिशूलले हानेर एक व्यक्तिको हत्या गरिएको छ ।
इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार बबई गाउँपालिका–३ धनुमास निवासी २८ वर्षका बालीराम वलीले सोही ठाउँ निवासी ४७ वर्षका नारायण डाँगीलाई फलामको त्रिशूलले हानेर हत्या गरेका हुन् ।
त्रिशूल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना आज बिहान सवा ७ बजे भएको थियो ।
हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।