सेप्टेम्बरसम्म अमेरिकामा मृतकको संख्या २ लाख पुग्ने
Thursday, June 11th, 2020, 2:27 pm
सेप्टेम्बरसम्म अमेरिकामा मृतकको संख्या २ लाख पुग्ने अनुमान गरिएको छ । संयुक्त राज्य अमेरिकाले सेप्टेम्बरसम्ममा कोरोना भाइरसको कारण २ लाख मृत्यु रेकर्ड सक्ने हार्वर्डको ग्लोबल हेल्थ इन्स्टिच्यूटका प्रमुख आशीष झाले बताएका हुन् ।
सीएनएनलाई दिएको एक अन्तरवार्तामा उनले अमेरिकाले कोरोना भाइरसको विषयमा केहि गम्भीर उपाय ननिकाले अमेरिकामा मृत्यु हुने संख्या बढ्ने बताएका थिए । आशिषका अनुसार संक्रमितको संख्याहरू नबढे पनि सेप्टेम्बर महिनासम्म अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख पुग्न सक्छ । तर, यसको भन्दैमा महामारी सेप्टेम्बरमा समाप्त हुदैन ।
उनले आगामी हप्ता र महिनामा महामारीले कस्तो मोड लिन सक्ने कुरामा सबै जना चिन्तित रहेको बताए । अमेरिकी सरकारले लकडाउनको प्रतिबन्ध खुकुलो पार्दै गरेको बेलामा अमेरिकामा कोरोना भाइरसका संक्रमितहरू २० लाख नाघिसकेको छ । अमेरिकामा हालसम्म २० लाख ६६ हजार ४ सय १ जना संक्रमितहरू रेकर्ड गरिएको छ भने १ लाख १५ हजार १ सय ३० जनाको मृत्यु भइसकेको छ ।