मिठो र फाइदा गर्छ भन्दै आँपको धेरै सेवन गर्नु हानिकारक हुन सक्छ
Thursday, June 11th, 2020, 2:21 pm
गर्मी मौसममा गर्मी मननपरे पनि अहिलेको मौसममा पाइने आँप सबलाई मनपर्ने फलफूल मध्ये एक हो । आँपलाई यतिकै फलको रुपमा, विभिन्न परिकारको अचार बनाएर, जुस बनाएर, केक बनाएर खान सकिन्छ । आँप खानुका धेरै फाइदाहरू पनि छन् । तर, हरेक कुराको ठिक्क मात्राले मात्र शरीरलाई फाइदा गर्छ ।
आँप वर्षमा एक पटक मात्र खान पाइने हुदा लोभका कारण मानिसहरू यसको धेरै सेवन गरिरहेका हुन्छन् । मानिसहरूले आँपको अत्यधिक सेवनले गर्दा शरीरलाई धेरै नोक्सान हुन सक्छ । आँप गर्मी गराउने फल हो । गर्मीमा यसको अत्यधिक सेवनले शरीरको तापलाई थप बढाउन सक्छ । शरीरमा धेरै गर्मीको कारण पासिना धेरै आउने, शरीरमा पानीको कमि हुने, अनुहारमा पिम्पल तथा जिउमा घमौरा आउन सक्छ ।
आँपको अत्यधिक सेवनले सुरुमा पाचन प्रक्रियामा समस्या निम्त्याउन सक्छ । धेरै जसो काँचो आँपको सेवनले पाचनमा गडबडी गरेर पेट सम्बन्धि विभिन्न समस्याहरू निम्त्याउन सक्छ । आँपको अत्यधिक सेवनले गरेमा पखाला लाग्न सक्छ । आँपमा धेरै कैलोरीमा हुन्छ र यसको अधिक सेवनले तौल बढ्न सक्छ । आँप प्राकृतिक चिनीमा धनी हुने हुदा आँपको सेवनले रगतमा चिनीको स्तर बढाउन सक्छ । त्यसैले, मधुमेह रोगीले आँपको सेवनमा सावधानी अपनाउनु पर्छ ।