कोरोना भाइरसको महामारी अझै सकिएको छैन: डा. एन्थोनी फाउची
Thursday, June 11th, 2020, 2:07 pm
कोरोना भाइरसका सम्बन्धमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसका लागि सल्लाहकारको भूमिकामा रहेका डा. एन्थोनी फाउचीले महामारी भर्खर सुरुवाती चरणमा भएको कारण यो अझै नसकिएको बताउ छन् । डा. एन्थोनी फाउची, अमेरिकाको नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक समेत हुन् ।
जर्ज फ्लोइडको हत्याका कारण अमेरिकामा ठूलो विरोध प्रदर्शन हुदै गर्दा र लकडाउनलाई बिस्तारै खुकुलो बनाउने क्रम जारी गरिरहेको बेला फाउचीले महामारी समाप्त भएको भ्रममा नपर्न चेतावनी दिएका हुन् । डा. फाउचीले तिब्र फैलिरहेको कोरोना भाइरसले ४ महिनाको अवधिमा विश्वभर गरेको मानवीय तथा आर्थिक क्षति अति भयावह रहेको बताउँदै समस्या थप भयानक बन्न सक्ने बताएका छन् ।
नयाँ भएका कारणले कोरोना भाइरसको विषयमा र यसले मानव शरीरमा कसरी आक्रमण गर्छ भन्ने स्पष्ट जानकारी हाल सम्म राम्ररी थाहा पाउन नसकेको उनि बताउछन् । आफ्नो कार्यकालको अधिकांश समय एचआइभीको अध्ययन गर्न बिताएका फाउचीले कोरोना भाइरस, एचआइभी भन्दा पनि एकदम जटिल रहेको जानकारी दिएका छन् । कोरोना भाइरसको फैलनबाट रोक्नका निम्ति खोपहरू मात्र एक तरीका हुने र संसार भरलाई पुग्ने गरि चाँडै नै सुरक्षित र प्रभावकारी खोप पत्ता लाग्ने कुरामा आफु विश्वस्त रहेको पनि बताएका छन् ।