चौरजहारी घटना: थप तीनजना समातिए
Thursday, June 11th, 2020, 12:02 pm
मुसिकोट, जेठ २९ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । यससँगै जेठ १० गते भएको सो प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ ।
पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ ।
फरार दुई जनालाई घटना घटेको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि फरक–फरक समयमा २५ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।