संसद चकलेटमय बन्यो: अर्थमन्त्री खतिवडा
Wednesday, June 10th, 2020, 5:52 pm
काठमाडौं, २८ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले चकलेटमा कर घटाइएको विषयमा प्रष्टीकरण दिएका छन् । संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले उठाएका प्रस्नको जवाफ दिँदै उनले अहिलेको संसद चकलेटमय बनेको भन्दै त्यस्तो प्रकारले बहस गर्न जरुरी नरहेको बताए ।
अघिल्लो वर्षहरुमा चक्लेटमा ३० प्रतिशत रहेको भन्सार दर चालु आर्थिक वर्षको बजेटमा ४० प्रतिशत गरिएको र अन्तशुल्क र भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत पुगेकोले यसपटक पुनः समायोजन गरिएको उनले स्पष्ट पारे ।
अहिले पनि ५४ प्रतिशत इफेक्टिभ रेट रहेको जानकारी दिए । ‘चालु आर्थिक वर्षको बजेटमा हामीले ४० प्रतिशत गरेका थियौं । ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत हुन गयो । खाद्य वस्तु हो ६६ प्रतिशत किन पुरानै दर ल्याऔं भनेर ३० प्रतिशतमा ल्याएको हो । अनि यो भन्दा अगाडि ३० प्रतिशतमा राख्ने सबै अर्थमन्त्रीले कुनै समूहसँग मिलेर गरेका हुन त ? यस्तो पनि प्रश्न गर्नुहुन्छ माननिय सदस्यहरुले । यो आफैमा के नगर्ने काम भयो मैले केहीपनि बुझेको छैन् । एमसीसी र चक्लेट मय बनेको छ यो संसद् यो नगरौं भन्ने मेरो अनुरोध हो,’ उनले भने ।
अर्थमन्त्री खतिवडाले संसदमा उठेका सबै विषयहरू सरकारले ध्यान दिएर सुन्ने र करका दरहरुमा विकृति, समस्या वा चुहावट भए सुझाव स्वीकार हुने बताए । उनले करका विषयहरुलाई व्यक्तिको निष्ठा र कुनै व्यवसायीक घरानासँग जोडेर हेर्ने काम नगर्न आग्रह गरे ।