कोरोना नियन्त्रण तथा उपचारमा भएको खर्चबारे बोले प्रधानमन्त्री ओली
Wednesday, June 10th, 2020, 2:34 pm
काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बुधबारको बैठकमा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै शकांको दृष्टिले नहेर्न आग्रह गरेका हुन् ।
विश्वास बाट काम थालेको र असाधारण ढंगले काम भईरहेकाले उहाँहरुको भावनामा ठेस पुग्ने शब्दाबली प्रयोग नगर्न पनि आग्रह गरे । “केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । दिनैपिच्छे लेखापरीक्षण हुदैन । कामका बेला लेखापरीक्षण तर्फ केन्द्रीत पनि भएका छैनौ । यस्तो परिस्थितिमा अविश्वासबाट थाल्नुपर्ने पनि छैन । यस्तो परिस्थितिमा तीनीहरु भ्रष्टाचार गर्नै पर्खि बसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भन्ने पनि होइन,’’ उनले भने ।
महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाईए सरकारे कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउदै अरुलाई लाञ्छना लगाउने र सधै अनियमितता भयो भन्ने प्रवृतिमा नबग्न उनले आग्रह गरे ।
“अनियमितता भयो भन्ने र लाञ्छित गर्ने प्रवृति पनि देखिन्छ । त्यो प्रवृतिमा नबग्न अनुरोध गर्दछ । कुनै पनि प्रकारको अनियमितता, भ्रष्टाचार सहँदैन । छानविन गर्छ कारवाही गर्छ अनि कानुनको कठघरमामा उभ्याउछ र दोषी भएको पाईएमा कारवाही गर्छ म माननीय ज्यूहरुलाई आश्वस्त तुल्याउन चाहन्छु ।”