क्वारेन्टाइनमा सर्पले डस्यो, परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखियो
Wednesday, June 10th, 2020, 2:32 pm
सुर्खेत, जेठ २८ । बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरंगा क्वारेन्टाइनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
ती पुरुषलाई मंगलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरुषलाई उपचारका लागि प्रदेश अस्पतालमा सिफारिस गरेका थिए ।
प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार बिरामी परेका ती पुरुष आकस्मिक कक्षमा ल्याएपछि चार चिकित्सक उपचारमा खटिएका थिए । बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा अस्पताललाई कुनै पनि औपचारिक रूपमा जानकारी नभएको निर्देशक डा खड्काले बताए ।
उनले भने, “बिरामी क्वारेन्टिनमा रहेको भन्नेबारेमा थाहा नै नदिएर उनलाई लिएर आएकाहरुले ती पुरुषलाई सिधै अस्पतालभित्र छिराए र उपचार गर्न लगाए । क्वारेन्टिनमा बसेको र कोरोना संक्रमित हुन् भन्ने थाहा नहुँदा उपचारमा एक्सपोजर भएका चार चिकित्सकमा अहिले आतंक फैलिएको छ ।”
उनले भने, “बिरामीको आरडिटी रिपोर्ट पनि पोजेटिभ रहेछ । उनलाई क्वारेन्टिनबाट ल्याइएको हो भन्ने अगाडि थाहा पाएको भए चिकित्सक पनि पिपिइ सेट लगाएर बिरामीको उपचारमा लाग्थे तर बिरामी ल्याउनेले र गाउँपालिकाले कुनै पनि जानकारी नदिँदा उपचारमा संलग्न चिकित्सकले सामान्य तरिकाले उपचार गर्नु भएछ ।”