सूर्यविनायकको गाई फार्ममा आगलागी
Wednesday, June 10th, 2020, 1:33 pm
भक्तपुर, जेठ २८ । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा आगलागी भएको छ । गए राति आगलागी भएको सो आगलागीबाट चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् ।
फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान ३ बजे आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिए ।
प्रहरीका अनुसार आगलागीबाट रु आठ लाख ७० हजार बराबरको क्षति भएको छ ।