कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको आरोप
Wednesday, June 10th, 2020, 1:31 pm
काठमाडौं, जेठ २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै ध्यानाकर्षण गराएको छ ।
कोरोना महामारीले पार्ने अल्पकालिन र दिर्घकालिन समस्याको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कांग्रेसले सरकारले कोरोना महामारी नियन्त्रण गर्न असफल भएको बताएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएपछि कांग्रेस नेता रमेश लेखकले नेपालमा संक्रमण देखिएको साढे चार महिना हुँदा पनि सरकारले तदारुकताका साथ काम गर्न नसकेको बताए ।
सरकारले अग्रपंक्तिमा रहेर काम गर्नेहरुका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन नसकेको, क्वारेन्टाइनहरुको उचित व्यवस्थापन गर्न नसकेको, उचित ढंगले परीक्षण नभएको उनले बताए ।
लकडाउनको साढे २ महिनाभन्दा बढी समय बित्दासमेत सरकारले अस्पतालहरुको गुणस्तर सुधार गर्न नसकेको, मापदण्ड अनुसार आइसोलेसनको व्यवस्था गर्न नसकेको विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।