ओखलढुंगाको सिद्धिचरणमा बोलेरो जिप दुर्घटना हुदा तीन जनाको मृत्यु
Sunday, January 23rd, 2022, 11:25 am
काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आज आइतबार बिहान बोलेरो जिप दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो । जिपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिनपा १ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका १ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उहाँहरुको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।
ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटामा ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको हो ।