भक्तपुरमा ईंटाभट्टाको मिनी ट्रक दुर्घटना, चालकको मृत्यु
Monday, June 8th, 2020, 1:50 pm
भक्तपुर, जेठ २६ । भक्तपुरमा ईंटाभट्टाको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित काली खोलामा गए राति मिनी ट्रक दुर्घटना हुँदा ट्रक चालक नवराज लाछिवाको मृत्यु भएको हो ।
ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा५ख ३११ नम्बरको महाशक्ति ईंट्टाभट्टाको मिनी ट्रक दुर्घटना भई सडकबाट खोलामा झरेको हो । उक्त दुर्घटनामा चाँगुनारायण–३ झौखेल बस्ने अन्दाजी ३५ वर्षीय ट्रक चालक लाछिवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक खोलामा खसेको जानकारी प्राप्त हुनासाथ व्यासी प्रहरी प्रभागको टोली घटनास्थल पुगेर चालक लाछिवाको उद्धार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनामा चालक लाछिवा ट्रकको अघिल्लो भागले च्यापिएको अवस्थामा फेला परेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्रनाउ) दीपक गिरीले बताए ।
घाइते चालकलाई क्रेनको सहायताले उद्धार गरी सल्लाघारीस्थित डा. इवामुरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।