अब अनलाइनबाटै कोरोना संक्रमितको भर्ना गरिने
Monday, June 8th, 2020, 10:59 am
विराटनगर, २६ जेठ । मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट संक्रमितको भर्ना गरिने भएको छ ।
प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
मन्त्री घिमिरेका अनुसार संक्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको छ । संक्रमितले बेड बुक गरेपछि बेड नं र संक्रमितको ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने संक्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
मन्त्री घिमिरेले आइतबार पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेना र अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेका थिए ।
सुन्दरहरैंचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा ५२ जना उपचाररत छन् । उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने थप ५१ बेड तयार गर्न मन्त्री घिमिरेले निर्देशन दिएका छन् ।