क्रिस्टियानो रोनाल्डो इतिहासकै पहिलो अर्बपति फुटबलर !
Monday, June 8th, 2020, 8:14 am
काठमाडौं, जेठ २६ । पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो इतिहासकै पहिलो अर्बपति खेलाडी बनेका छन् । फोर्ब्स म्यागाजिनका अनुसार खेलकुदबाट मात्रै एक अर्ब डलरभन्दा बढी आम्दानी गर्ने उनी तेस्रो सक्रिय खेलाडी हुन् ।
रोनाल्डोले १७ वर्षे व्यवसायिक फुटबलबाट कूल ६ सय ५० मिलियन डलर कमाएको बताइएको छ । सन् २०१६ बाट नाइकेसँग जोडिएका उनले आफ्नो गृृहनगर मडेइरामा सीआर७ म्युजियम, होटल खोलेका छन्, त्यहाँबाट पनि उनी कमाइ गर्छन् ।
यता, धनी खेलाडीको सूचिको फुटबलतर्फ ३५ वर्षीय रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । फोर्ब्सका अनुसार युभेन्टसका फरवार्ड रोनाल्डोले अघिल्लो वर्ष कर तिर्नुभन्दा अगाडि १ सय ५ मिलियन अमेरिकी डलर कमाएका थिए, जसले गर्दा उनको कूल सम्पत्ति एक अर्ब भएको हो ।
फोर्ब्सका अनुसार उनी युभेन्टसमा आबद्ध भएको २४ घण्टामै ५ लाख बीस हजार वटा जर्सी बिक्री भएको थियो । जसबाट क्लबले एकै दिनको अन्तरालमा ६० लाख डलर आम्दानी गरेको थियो ।