नेपालबाहिर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १२५ पुग्यो
Sunday, June 7th, 2020, 3:16 pm
काठमाडौं, जेठ २५ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण नेपालबाहिर मृत्यु हुने नेपालीको संख्या १२५ पुगेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म विदेशमा एक सय २५ जना नेपालीहरूको कोरोनाका कारणले निधन भएको हो ।
यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५९० जनाले कोरोना जितेको एनआरएनएका स्वास्थ्य समितिका संयोजक डा. संन्जीव सापकोटाले जानकारी दिए ।
उनका अनुसार सो साता कतारमा चार जना, कुवेतमा एक जना, युकेमा एक जना गरी छ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् ।
संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट प्रभावित भएका छन् ।
१३ देशमा रहेका नेपालीहरूको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्याण्डस्, र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।
संयोजक डा.सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार चार सय ५४ जना नेपालीमा संक्रमण गैर आवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् ।
यद्यपि, विदेशमा नेपालीहरूको मृत्यु र संक्रमणको दर उल्लेख्य रूपमा कमी आएको र संक्रमण दर गत साताभन्दा ७५ प्रतिशतले कमी भएको छ ।