भारतमा एकैदिन झण्डै दश हजारमा कोरोना संक्रमण, सात हजारले ज्यान गुमाए
Sunday, June 7th, 2020, 1:12 pm
नयाँदिल्ली, २५ जेठ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस भारतमा तीब्र गतिमा फैलिरहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार भारतमा एकैदिनमा झण्डै दश हजार जना संक्रमित भेटिएका छन् । संक्रमितहरूको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ ।
त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको संख्या पनि २८७ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । कुल संक्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कुल मृतकको संख्या छ हजार ९२९ पुगेको छ भने एक लाख १९ हजार २९३ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमित भेटिएका छन् । जहाँ ८२ हजार ९६८ जना संक्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै संक्रमित भएको तमिलनाडु प्रदेशमा कुल ३० हजार १५२ जना संक्रमित भएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशभरी कुल ४६ लाख ६६ हजार ३८६ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ । तीमध्ये एक लाख ४२ हजार ६९ जनाको पछिल्लो २४ घण्टाभित्र परीक्षण गरिएको थियो ।